आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

गठबन्धन गरेरै चुनावमा जान छलफल भइरहेको छ : प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर२६ फाल्गुन २०७८, बिहीबार १३:५६ मा प्रकाशित (२ साल अघि) ५२४ पाठक संख्या

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताएका छन् । अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा जाने संकेत दिएका छन् ।

देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन नसक्ने भएकोले बलियो सरकार बनाउनका लागि गठबन्धन आवश्यक रहेकोमा जोड दिए ।

‘हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईंहरूलाई थाहै छ,’ प्रधानमन्त्री देउवाले प्रश्न गरे ।  ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको बताए । ‘विशेषगरी हाम्रो पार्टीको उदेश्य भनेकै नेपालमा प्रजातन्त्र र लोकतन्त्रलाई स्थायी गराउने हो । सबै जनताको अधिकारहरूलाई ग्यारेण्टी गर्ने हाम्रो उदेश्य हो । यो उद्देश्यमा गठबन्धनका सबै साथीहरूले स्वीकार गरेर म प्रधामनन्त्री भएको हुँ,’ उनले भने, ‘यो गठबन्धन सरकारकै उपलब्धि हो ।’