आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

माओवादीमा एमसीसी विवाद चुनावसम्म थाती राख्ने सहमति

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७८, सोमबार ०७:२२ मा प्रकाशित (२ साल अघि) ३६४ पाठक संख्या

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय समितिको बैठक स्थगित गरेर बसेको केन्द्रीय कार्यालय समितिको विस्तारित बैठकमा एमसीसी अनुमोदनसँगै सुरु भएको विवाद चुनावसम्म थाती राख्ने सहमति भएको छ ।

नेता हरिबोल गजुरेलका अनुसार एमसीसी अनुमोदनप्रति नेताहरुले राखेको फरक मत, नोट अफ डिसेन्ट दर्ज हुनेछ । केन्द्रीय समितिले निर्णय गर्नुअघि चुनावी घोषणापत्रमा एमसीसीबारे उल्लेख गरिने विषयबारे साझा धारणा बनाउन छुट्टै टिम बनाउने सहमति पनि भएको छ ।

एमसीसीका बारेमा असन्तुष्ठ नारायणकाजी श्रेष्ठ समूहका नेताहरुले पनि ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनलगत्तै पार्टीव्यापी बहस छलफलमा लैजाने र एमसीसीबारे एउटा निष्कर्षमा पुग्ने सहमति भएको स्वीकार गरेका छन् ।

शुक्रबार केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु आफूहरुको बाध्यात्मक कदम भएको बताएका थिए । शान्ति प्रक्रियाका बाँकी मुद्दा, सभामुखलगायतका कारण कटवाल प्रकरणजस्तै प्रत्युत्पादक हुने देखेपछि व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने बाटो लिएको उनको स्पष्टीकरण थियो ।

तर नेता श्रेष्ठले एमसीसी राष्ट्रघाती भएको र महाधिवेशनको निर्णय तथा आम कार्यकर्ताको भावना विपरीत अनुमोदन गरिएको भन्दै आलोचना गरेका थिए ।