आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

भक्तजनका लागि आजबाट पशुपतिनाथको मन्दिर खुला

गोकर्णेश्वर खबर२८ माघ २०७८, शुक्रबार ०९:२७ मा प्रकाशित (२ साल अघि) ४८३ पाठक संख्या

२८ माघ, काठमाडौं । आराध्यदेव पशुपतिनाथको मन्दिर आजबाट भक्तजनका लागि खुल्ला भएको छ । कोरोनाको तेस्रो लहर शुरु भए पछि बन्द गरिएको मन्दिर झन्डै एक महिनापछि भक्तजनका लागि खुल्ला भएको हो ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका अनुसार काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम नै दर्शनार्थीका लागि मन्दिर खुल्ला गरिएको हो । उपत्यकाका तीन जिल्ला प्रमुखले ५० जनाभन्दा बढी नहुने गरी मन्दिर खोल्न पाउने प्रावधान अनुसार नै मन्दिर खोलेको कोषले जनाएको छ ।

मन्दिर प्रवेशका लागि दर्शनार्थीले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने छ । मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । ५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

सिसिएमसिसीको सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेको छ ।