आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

सूचना लुकाउन थानीय तह अग्रपंक्तिमा रहेको प्रतिवेदनको दावी

गोकर्णेश्वर खबर१९ माघ २०७८, बुधबार १८:५८ मा प्रकाशित (२ साल अघि) ६१० पाठक संख्या

१९ माघ, काठमाडौं । राष्ट्रिय सूचना आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहहरुले सूचना लुकाउने गरेका छन् । सूचना लुकाउनेमा स्थानीय तह अग्रपंक्तिमा देखिएका छन् ।

राष्ट्रिय सूचना आयोगका अनुसार सूचना नदिएको भन्दै सबैभन्दा धेरै स्थानीय तहबारेका उजुरी पर्ने गरेका छन् । आयोगका अनुसार आर्थिक वर्ष ०७७।७८ मा आयोगमा आएका उजुरीमध्ये ७३ प्रतिशत उजुरी स्थानीय तहले सूचना उपलब्ध नगराएकोबारे छन् ।

आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा सात सय ५३ उजुरी परेको र यसमध्ये सबैभन्दा बढी ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको उल्लेख गरेको छ ।

आयोगका अनुसार स्थानीय तहपछि शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित सात प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित चार प्रतिशत र कानुन, न्याय र प्रशासनसँग सम्बन्धित चार प्रतिशत उजुरी परेका छन् । आयोगले यस अवधिमा परेका उजुरीमध्ये ९८.७ प्रतिशत फर्स्योट गरेको जनाएको छ ।

संविधानको धारा २७ अनुसार सार्वजनिक सूचना माग गर्दा सूचना उपलब्ध नगराएमा सूचना आयोगमा उजुरी गर्न सकिने व्यवस्था रहेको छ । आयोगले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न स्थानीय तह उदासीन देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।