आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होछार प्रधानमन्त्रीको मनाउन आग्रह

गोकर्णेश्वर खबर१९ माघ २०७८, बुधबार ०८:२३ मा प्रकाशित (२ साल अघि) ४३३ पाठक संख्या

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।

उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।

राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिका लागि शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ ।

ल्होछारको अवसरमा  उपराष्ट्रपति, सभामुख र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।