आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

गोकर्णेश्वर खबर१० माघ २०७८, सोमबार ०९:३४ मा प्रकाशित (२ साल अघि) ४०४ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्ने व्यक्तिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आइतबार बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीर भर्चुअलकरेन्सी नेपालमा अवैध रहेको जानकारी दिँदै कारबाही गर्ने चेतावनी दिएको हो।

बैंकले नेपालभित्र बसोबास गर्ने नेपाली, विदेशी नागरिक र विदेशमै बस्ने नेपालीहरूले समेत यस्तो कारोबारमा संलग्न नहुन भनेको छ।

‘नेपालमा विदेशी विनिमय या मुद्राको रूपमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपयुक्त बमोजिम गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधरण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिए स्वदेशी पुँजी पलायन हुन्छ,’ सूचनामा भनिएको छ।

यस्ता कारोबारमा संलग्न भए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

गत बिहीबारमात्रै महानगरीय अपराध महाशाखाले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पर्वत घर भई कास्की पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंको थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन्।

पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।