आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

बतास समूहलाई फेरी झड्का : धर्मशाला भाडा सम्झौता भंग गर्न निर्देशन

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार १८:२७ मा प्रकाशित (२ साल अघि) १८७ पाठक संख्या

३ माघ, काठमाडौं । नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिले सिफारिस गरेको छ । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको ठहर गर्दै सम्झौता भंग गर्न सिफारिस गरेको छ ।

बतास समुहलाई फाईदा पुग्नेगरी बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिदा मिलेमतो देखिएको पनि समितिको निष्कर्ष रहेको छ ।

पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडा सम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्न निर्देशन दिएको हो ।

समितिले पेस गरेको प्रतिवेदनमा ‘धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरु पालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ’ भनिएको छ ।