आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

जलवायु परिवर्तनका कारण विश्वभर अर्बौँ डलरको क्षति

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार १८:०३ मा प्रकाशित (२ साल अघि) ३६५ पाठक संख्या

१२ पुष, काठमाडौं । विश्वभर जलवायु परिवर्तनका कारण जलवायुजन्य अतिशय विषम मौसमी घटनाहरु बढ्न गई सन् २०२१ मा अर्बौँ अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भएको एक अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार यस्तै दक्षिणी सुडानमा बाढीका कारण ८ लाखभन्दा बढी मानिस विस्थापित भएको तथा भारत, श्रीलंका र माल्दिभ्समा ताउते आँधीबाट बच्नका लागि दुई लाख मानिस विस्थापित हुनु परेको प्रतिवेदनमा उल्लेख छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका कारण सघन बनेको मौसमी घटनाक्रम (विपद) का कारण आर्थिक क्षति ठूलो मात्रामा भएको हो। विश्वभर कम्तीमा १० वटा अतिशय विषम घटनाका कारण एक अर्ब ५० करोड अमेरिकी डलर (प्रतिघटना) बराबरको क्षति भएको छ ।

जर्मनी, फ्रान्ससहित युरोपका विभिन्न क्षेत्रमा जुलाईमा गएको बाढीका कारण पनि ठूलो मात्रामा क्षति भएको जनाइएको छ । २४० जनाको ज्यान लिएको बाढीका कारण चार अर्ब ३० करोड बराबरको आर्थिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अमेरिकामा गएको अगस्टमा आएको आइडा आँधी तथा जुलाईमा युरोपमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति भएको छ । बाढी तथा आँधीहरुले आर्थिक अवस्था कमजोर रहेका क्षेत्रमा ठूलो संख्यामा मानिसहरु बिस्थापित भएका छन् ।

हरेक मौसमी घटना वा विपदको सम्बन्ध वा कारक जलवायु परिवर्तन होइन, तर वैज्ञानिकहरुले यस्ता घटनाक्रमहरुको जलवायुजन्य सम्बन्ध खोज्न लागिपरेका छन् ।

क्रिष्टियन एडले गरेको अध्ययनअनुसार सन् २०२१ मा सबैभन्दा बढी आर्थिक क्षति गरेको जलवायुजन्य अतिशय घटना आइडा आँधी हो । कम्तीमा ९५ जनाको ज्यान लिएको आइडा आँधीका कारण ६ अर्ब ५० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख छ । बाढी तथा आँधीले गरिब देशहरुमा विस्थापन र अरु गम्भीर समस्याहरु निम्त्याएको उल्लेख छ ।