आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

जर्मनीले नेपाललाई कोरोनाविरुद्ध ४१ लाख डोज खोप दियो

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार १३:२१ मा प्रकाशित (२ साल अघि) १९५ पाठक संख्या

१ पुस, काठमाडौं । नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो ।

कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताका रुपमा खोप सहयोग प्रदान गरिएको हो । यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजर खरिद प्रक्रियामा समेत नेपाललाई जर्मनीले सहयोग प्रदान गरेको थियो ।

नेपालका लागि कार्यवाहक जर्मन राजदूत डा. स्टेफन रुसेकले भने, ‘हामीले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्छौं । तसर्थ यस महामारीको सुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मञ्च एसीटी–ए-कोभ्याक्ससँग सहकार्य गरेको थियो र अहिले यस मञ्चको दोश्रो ठुलो दाताको रुपमा छ । हामीले नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको छौं ।’