आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट मल्ललाई हटाउने क्यानको निर्णय,लामिछानेलाई कप्तानको जिम्मा

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार ०७:२६ मा प्रकाशित (२ साल अघि) ३८८ पाठक संख्या

काठमाडौं । खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानीबाट हटाएको छ।

क्यानले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय गरेको छ।

मल्लसहित असन्तुष्टि पोखेका उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई वर्गीकरणबाट सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको छ।

खेलाडीहरूलाई कारबाही गर्ने वा नगर्नेबारे आज बसेको बोर्ड बैठकमा विवाद भएको थियो। ६ जना केन्द्रीय सदस्यहरूले खेलाडीलाई कारबाही गरेर विवाद समाधान नहुने बताएका थिए। केन्द्रीय सदस्यहरू अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी, करण मल्होत्रा, छुम्बी लामा र सञ्जय सिंहले खेलाडीलाई कारबाही गर्न नहुने राय राखेका थिए।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले भने कारबाही गर्नुपर्ने अडान राखेपछि बहुमतको आधारमा निर्णय भएको हो। भर्चुअल बैठकको दौरान सदस्यहरूबीच चर्काचर्की पनि भएको एक केन्द्रीय सदस्यले बताए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द अनुशासनहीन काम गरेकोले कप्तान परिवर्तन गरेको र अन्य खेलाडीलाई ६ महिनाको तलब नदिने निर्णय गरेको बताए। तर खेलाडीहरूलाई राष्ट्रिय टिमबाट खेल्न कुनै बन्देज नलगाइएको उनले बताए।

क्यानको आज सम्पन्न बोर्ड बैठकले गरेका निर्णय

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरिएको छ।
नेपाल क्रिकेट संघले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरूको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको छ।‍
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ।
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आगामी डिसेम्बर २१, २०२१ देखि पोखरामा सञ्चालन गर्ने निर्णय गरिएको छ।
नेपाल प्रशिक्षक संघलाइ मान्यता प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाइ सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय गरिएको छ।