आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

बेलायतमा ‌ओमिक्रोन संक्रमण व्यापक बढेसँगै सरकारद्धारा ‘‌आपतकाल’ को घोषणा

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार ०९:३१ मा प्रकाशित (२ साल अघि) ८९ पाठक संख्या

लन्डन । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रूपमा बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले ‘‌ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।

ओमिक्रोन संक्रमण रोक्न उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने जानकारीसमेत गराएका छन्।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गरेका हुन्।

यसअघि बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो। तर ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिए।

कोरोनाविरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेकाले यसले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरूको दाबी छ। जसका कारण अस्पतालमा हुने चाप समेत नियन्त्रण गर्न सकिन्छ ।

यसैबीच बेलायतले बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरेको छ।

अफ्रिकी मुलुकबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले थुप्रै मुलुकमा फैलिएको छ। यसअघिको डेल्टा भाइरस भन्दा बढी संक्रामक ठानिएको यो भाइरसको बारेमा अध्ययन जारी नै रहेपनि डेल्टाको तुलनामा कम खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

बेलायतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्धात्मक नियम लागू गरेको छ ।

विगत केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिरहेका छन्। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि दैनिक ५ सयको हाराहारीमा छ।