आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

भारतीय पूर्वसेना प्रमुख रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार १८:५९ मा प्रकाशित (२ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं । भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले ट्विटरमार्फत जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार थिए । रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । उनलाई गत वर्ष जनवरीमा सरकारले सो पदमा नियुक्त गरेको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।

बुधबार बिहान तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । बाक्लो कुहिरोका कारण जंगलमा दुर्घटना भएलगत्तै हेलिकप्टरमा आगो लागेको थियो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत तथा उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह सवार रहेका थिए । त्यस्तै, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्‍स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

रावत विलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।