आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

नेपाल र भारतबीच आज दोस्रो मैत्रीपूर्ण खेल

गोकर्णेश्वर खबर२० भाद्र २०७८, आईतवार ०९:५९ मा प्रकाशित (२ साल अघि) १२३ पाठक संख्या

काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो ।

दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।

भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।

पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए । तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए । भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २-३ गोलको हकदार भएको बताएका थिए ।

पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए ।

नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।