आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

विराटनगरमा एक साताका लागी निषेधाज्ञा जारी,हिँडडुल गर्न समेत रोक

गोकर्णेश्वर खबर१८ बैशाख २०७८, शनिबार ०९:५७ मा प्रकाशित (३ साल अघि) ३७३ पाठक संख्या

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा एक साता निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर सेरोफेरोमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रशासनले आइतबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो । अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाको निर्णय नभएको उनले बताए।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए ।

सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए । सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुनेछ।

मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।

यसअघि सुनसरी जिल्ला प्रशासनले आज (शुक्रबार) राति १२ बजेपछि २०७८ वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।