आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

१७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

गोकर्णेश्वर खबर२५ माघ २०७७, आईतवार २०:५८ मा प्रकाशित (३ साल अघि) ५१७ पाठक संख्या

काठमाडौं – बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन् ।

प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ । भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले बताए । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको उनले जनाए ।

‘हिजोसम्म हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधा थियो, अब जबरजस्तीकरणीपछि हत्या भन्ने निर्क्यौल भयो’, उनले भने । आइतबार बिहानै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंह भन्छन्, ‘प्रहरीले संवेदनशील भएर यो घटनाको अनुसन्धान गरिरहेको छ, चाँडै नतिजा निस्किनेछ ।’