आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024

नेता पौडेलको प्रश्न-अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २२:३१ मा प्रकाशित (३ साल अघि) ५८५ पाठक संख्या

मोरङ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने बताएका छन् ।

गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको ‘बरगाछी १६ औं अंक मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषांक’ लोकार्पण कार्यक्रममा पौडेलले कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नै एजेन्डामा अघि बढ्नुपर्ने बताएका हुन् । उनले कांग्रेसमा दुई लाइन नभएको प्रस्ट पारे । ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने निर्णय नै कांग्रेसको लाइन हो,’ पौडेलले भने, ‘यो पार्टीको लाइन छोड्ने आफैं बेलाइन भएर जान्छ ।’

सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्ने उनले प्रश्न उठाए । पौडेलले विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको बताए । ‘सर्वोच्च अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?’ उनले भने, ‘५ वर्षका लागि म्यान्डेट दिएका जनतालाई धोका दिँदै संविधानलाई कुल्चेर गरेको चुनाव स्वीकार्छौं ?’

पौडेलले अदालतको पवित्रतामाथि पनि प्रश्न उठाए । ‘अदालतको पवित्रताको दुहाइ नदिऔं,’ उनले भने, ‘अदालतले अहिले जनताको आवाज र संविधान सुन्नु पर्छ र संविधान हेरेर फैसला गर्नु पर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी पौडेलले अदालतलाई केही भन्नु हुँदैन भन्दै नाटकीय छलछाम र जनतालाई धोका दिने काम गर्न नहुने बताए । ‘प्रतिनिधिसभा विघटन राजनीतिक निर्णय भएकोले पुनःस्थापनाको मुद्दा खारेज गर्नुपर्छ भन्दै अदालतलाई धम्क्याउने प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ,’ उनले भने, ‘प्रतिपक्षले अदालतको निर्णय कुरेर बस्ने होइन ।’