आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार ०७:१४ मा प्रकाशित (३ साल अघि) ३६१ पाठक संख्या

काठमाडौँ, २६ साउन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउनुहुन्छ ।

यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोरबिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको उहाँ बताउनुहुन्छ । गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ । भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने अध्यक्ष कार्की बताउनुहुन्छ । पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको उहाँले सुनाउनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयवासी श्रीराम सापकोटा कलङ्की चक्रपथ हुँदै साँखु चल्ने सार्वजनिक यातायातले शनिबार उभिएर यात्रु राख्दासमेत कतै पनि प्रहरीले जाँच नगरेको बताउनुहुन्छ । कम सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेका छन् । भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि यस्तो यात्रा गर्न पनि बाध्य हुनुपरेको यात्रु गीता ढकालको भनाइ छ । दैनिक टीकाथलीबाट आउने सवारीमा सिटभर र उभिएरसमेत यात्रा गर्न बाध्य हुनुको विकल्प नरहेको उहाँले सुनाउनुभयो ।

सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकेअनुसार ५० प्रतिशत बढाएरै असुल गरिरहेका छन् । सुन्दरीजलबाट रत्नपार्क आउने बा३ख १७७ नं सार्वजनिक यातायातले सात÷आठ जना यात्रु उभ्याएर यात्रा गरायो । यो यात्राको मार्गमा पर्ने महानगरीय प्रहरी वृत्त बौद्ध र त्यसअन्तर्गतको प्रभाग गोकर्णको मूल सडकमै भए पनि देखेको नदेखेकै गरिदिए । पुतलीसडकमा झरेका एक यात्रुले साबिककै भाडा दिएपछि परिचालकले ५० प्रतिशत बढेको भाडा माग गरे यो खबर आजको गोरखापत्रले छापेको छ ।