आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

कोरोना संक्रमितको उपचारमा धरौटी नलिइ उपचार गर्न सरकारी अस्पताललाई सरकारको निर्देशन

गोकर्णेश्वर खबर१७ कार्तिक २०७७, सोमबार ०५:३० मा प्रकाशित (३ साल अघि) ३४२ पाठक संख्या

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको उपचारको क्रममा धरौटी नलिइ उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयको कोरोना ब्रिफिङमा धरौटी रकम नलिइ उपचार गर्न निर्देशन दिएको बताए।

उनले धरौटीसम्बन्धी सूचना निकालेका अस्पताललाई स्पष्टीकरण सोधिएको समेत जानकारी दिए। ‘सरकारी अस्पताल सबैलाई धरौटी नलिइ कोभिड १९ का बिरामीको उपचार गर्न निर्देशन दिइएको, धरौटी दिएको अस्पताल सम्बन्धी सूचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्पष्टिकरण सोधिएको जानकारी गराउन चाहन्छु,’ उनले भने।

उनले सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय रहेको बताए। यस्तै डा.गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको सरसल्लाह, रिफर, तथा अनुगमन गर्ने कार्य पालिकाहरुको भएकोले उक्त कार्य तदारुकताका साथ सम्पन्न गर्न सबै ७५३ पालिकालाई निर्देशन दिएको समेत जानकारी दिए।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको एकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव, इपिडिमियोलोजी  तथा रोग नियन्त्रण महाशाखाका महाशाखा प्रमुख र सीसीएमसीका एक चिकित्सकसहितको ३ जनाको समिति गठन गरिएको र  उक्त समितिले काम गरिरहेको मन्त्रालयले जनाएको छ।