आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका घलान ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी रहेको खुलासा

गोकर्णेश्वर खबर२७ आश्विन २०८०, शनिबार १४:२४ मा प्रकाशित (६ महिना अघि) १७५०८ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका– ३ जगडोलमा गोली लागेर घाइते भएका सिन्धुलीका ३६ वर्षीय अमर घलान ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गरेको प्रतिवादी रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको गोली प्रहारबाट उनी घाइते भएका थिए । उनको खुट्टामा गोली लागेको थियो ।

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोलमा सात राउन्ड गोलीसहित सर्लाहीका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामालाई पनि पक्राउ गरेको छ । सन्त पनि ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । ‘लुटेरा समूह पछ्याउने क्रममा गोली चलेको हो । यसक्रममा एकजना घाइते भएका छन् । घटनास्थलबाट पेस्तोल र गोली पनि बरामद भएको छ । पक्राउ परेका तीनमध्ये एक ज्यान मार्ने उद्योगको फरार प्रतिवादी र अर्को सजाय भुक्तान गरेर बसेको प्रतिवादी रहेको खुलेको छ,’ उनले भने ।

अनुसन्धान कार्यालयका अनुसार प्रहरीले उनीहरूलाई एक महिनादेखि निगारानीमा राखेको थियो । उनीहरू जगडोल रहेको खुलेपछि प्रहरी पछ्याउँदै घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार पछ्याएको थाहा पाएपछि उनीहरूले प्रहरीतर्फ लक्षित गर्दै गोली प्रहार गर्न खोजेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो ।

घाइते घलानको अहिले अत्तरखेलस्थित अस्पतालमा उपचार भइरहेको छ । ‘प्रहरीले महिना दिनदेखि उनीहरूको निगरानी गरिरहेको थियो । यही क्रममा उनीहरू बिहीबार जगडोल रहेको खुल्यो । प्रहरी टोली पछ्याउँदै त्यहाँ पुगेपछि तर्सिएका उनीहरूले गोली प्रहार गर्न खोजे । यसैको प्रतिकार गर्दै प्रहरीले गोली प्रहारपछि एकजना घाइते हुन पुगे,’ उनले भने ।