आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन अघि सर्‍यो शेखर समूह

गोकर्णेश्वर खबर२५ आश्विन २०८०, बिहीबार १७:२० मा प्रकाशित (६ महिना अघि) १२२ पाठक संख्या

काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि नेपाली कांग्रेसमा भाँडभैलो हुने अवस्था आएको छ । ७ प्रदेशमध्ये गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री छन् ।

तीन मुख्यमन्त्री हुँदा पनि एक ठाउँमा पनि आफूपक्षीय मुख्यमन्त्री नभएपछि कोशीमा इतर समूहले मुख्यमन्त्री दाबी गरेको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभामा अन्तिम मुख्यमन्त्री बनाउने अभ्यास चल्दै छ । मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भोलिसम्मको समयसमीमा छ । सो समयसम्म बहुमत जुटाउन इतर समूह लागिरहेको छ ।

इतर समूहले केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सार्दै कांग्रेसका सांसद तथा अन्य दलहरूसँग छलफल गरिरहेको छ ।

‘गठबन्धनको आधिकारिक निर्णय अन्तिम भैसकेको छैन । आज पनि सोच्ने दिन छ । आजसम्म निर्णय सच्चिएन भने फरक तरिकाले सरकार बनाउन अघि बढ्छौँ । अब दलीय नेता भन्दा पनि प्रदेश सांसदबाट हुने हो । जसले बहुमत पुर्‍याउँछ, उही मुख्यमन्त्री हुन्छ । त्यो प्रक्रियामा हामी जान्छौँ,’ इतर समूहका एक सांसदले शिलापत्रसँग भने, ‘केदार कार्कीले नेतृत्व गर्ने गरी सबैसँग छलफलमा छौँ ।’

कार्कीसहितको टोली काठमाडौंमा छ । उनीहरूले कांग्रेस संस्थापनइतर समूहका नेता शेखर कोइरालाको सन्देश लिए पनि के भएको बताउन चाहेका छैनन् ।
‘अहिले हामी काठमाडौंबाट विराटनगर जाँदै छौँ । केही भएको छैन । जे हुन्छ, पछि थाहा हुन्छ,’ प्रदेश सांसद रामकुमार खत्रीले भने ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिनुअगावै केदारले मुख्यमन्त्रीको तयारी सुरु गरेका थिए । उनले आफूले मुख्यमन्त्री दाबी गर्ने बताएका थिए । गठबन्धनबाट माओवादीलाई मुख्यमन्त्री दिने भनेपछि के गर्ने भन्नेबारे बताएका छैनन् ।

उनी काठमाडौंबाट विराटनगर जाँदै छन् । त्यसपछि थप रणनीति बनाइने प्रदेश सांसद शमशेर राईले बताए ।

यता कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा भने पार्टीको ह्वीप नलाग्ने भए पनि अनुशासन लाग्ने र त्यो अनुशासन उल्लंघन कसैले नगर्ने बताउँछन् ।

तर, कोइरालाले संविधानअनुसार सांसद स्वतन्त्र हुने अवस्थामा पुगेकाले आफैँ निर्णय गर्न भनेका छन् । सो सन्देश लिएर केदार विराटनगर जाँदै छन् । प्रदेश सांसदको निर्णयलाई मान्ने पनि कोइरालाको भनाइ छ ।