आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा रबिन अधिकारीले उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२२ आश्विन २०८०, सोमबार १०:०४ मा प्रकाशित (६ महिना अघि) १२४ पाठक संख्या

काठमाडौं। गैर आवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष रबिन अधिकारीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा पोर्चुगलबाट उम्मेदवारी दिने भएका छन् ।

अधिकारीले आगामी (२०२३–०२५) कार्यकालका लागि युवा संयोजकमा उम्मेदवारी दिने भएका हुन् । यही अक्टोबर १७ मा काठमाण्डौंमा हुने ११ औं महाधिवेशनमा ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत् सहभागिता’ भन्ने मुल नाराका साथ अधिकारीले युवा संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा संगै अधिकारीले आफूले गर्ने काम र योजना सहित सात बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

संघमा युवा र नयाँ पुस्ताको व्यापक सहभागिता बढाउने बिशेष योजना र कार्यक्रमका साथ युवा संयोजकमा उम्मेदवारी दिने तयारी गरेको अधिकारीले बताए । एनआरएनए पोर्चुगलको नेतृत्व गरेको अनुभवका साथै संघको बिभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभवका आधारमा संघलाई थप गतिशील र सशक्त बनाउने सोंच र परिकल्पनाका आफू युवा संयोजक पदमा साझा उम्मेदवारका रुपमा प्रस्तुत भएको उनले बताए ।

‘धेरै राष्ट्रका एनआरएनए अभियन्ताहरुको साथ, सहयोग र समर्थन पाएकै कारण ठोस योजना र कार्यक्रमका साथ मैले युवा संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको हुँ – अधिकारीले भने ।’

संघका पूर्व आईसिसी सदस्य समेत रहेका अधिकारी बिगत लामो समयदेखि एनआरएनए अभियानमा क्रियाशील रहंदै आएका छन् । संघको बिभिन्न तह र तप्कामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका अधिकारीले सांगठनिक नेतृत्वको अनुभव समेत बटुलीसकेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमको (२०११(०१३) कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका उनी युवा माझ लोकप्रिय छन् ।

अध्ययनको सिलसिलामा सन् २००९ मा बेलायत गएका उनी बेल्जियम हुदै पछिल्लो समय पोर्चुगलमा रहेर संघ मार्फत् सामाजिक गतिविधीमा सकृय रहदै आएका छन् । सन् २०१३ देखि पोर्चुगल बस्दै आएका अधिकारी सफल र स्थापित नेपाली ब्यवसायीका रुपमा समेत परिचित छन् । अधिकारीले गैर आवासीय नेपाली संघ पोर्चुगलको नेतृत्व र हस्तान्तरण सफलतापूर्वक र जिम्मेवारपूर्ण ढंगले गर्न सफल भएको एनआरएन वृत्तमा चर्चा समेत छ ।

“म बिगत १४ बर्ष देखि एनआरएन अभियानमा निरन्तर क्रियाशील रहदै आएको छु । संघमा मेरो लामो अनुभव, क्रियाशीलता र योगदान छ ।, रोजागारीका लागि बिदेशिएका लाखौं युवाको पक्षमा काम गर्ने र संघमा युवा पुस्ताको सहभागीता बढाउने संकल्पका साथ म चुनावी मैदानमा होमिएको हो,– अधिकारीले भने ।”

विदेशमा रहेका नयां पुस्तालाई नेपाल र नेपालीपनसंग जोड्नका लागि नेपाली भाषा, कला, संस्कृतिको प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने, बिश्वभर छरिएर रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरुलाई प्रोत्साहित गर्नका लागि एनआरएन युवा खेलकुद कोषको स्थापना गर्ने, आइसिसी र एनसिसीको बीचमा आवश्यक समन्वय गरी आपसी सहयोग अभिवृद्धि गर्ने, विभिन्न मुलुकमा समस्यामा परेका युवाहरुको समस्या समाधानका लागि आवश्यक पहल र प्रयन्त गर्ने लगायतका योजना तथा कार्यक्रमहरु अधिकारीले अगाडि सारेका छन् । साथै पोर्चुगलमा दूतावास स्थापनाका लागि एनआरएन पोर्चुगलको अध्यक्षको हैसियतले विभिन्न माध्यम र निकाय मार्फत् पहल र प्रयत्न गरेको स्मरण गर्दै उनले दूतावास स्थापनाका लागि थप पहल र प्रयत्न गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

बिश्वभर छरिएर रहेका युवाहरुसंग समन्वय र सहकार्य गरेर युवाहरूको आवाजलाई केन्द्र सम्म बुलन्द पार्ने उनले बताए ।

” मेरो उम्मेदवारी मूलतः संघमा थप योगदान गरौँ, मातृभूमिका लागि केही गरौँ र बिश्वभर छरिएर रहेका तमाम युवाहरुको आवाजलाई बुलन्द पारौं भन्ने हो, (उनले अगाडि थपे।” अधिकारीले युवा संयोजकका लागि आफू नै योग्य उम्मेदवार रहेको समेत बताएका छन् ।

“ म बिगत लामो समयदेखि प्रवासमा रहेर समाजिक गतिबिधीमा सकृय रहंदै आएको छु ।, ‘मेरो उम्मेदवारी ब्यक्तिगत लाभ र स्वार्थका लागि होईन, संघको हित र बिशुद्ध सेवाका लागि हो’,– अधिकारीले भने । ‘ संघलाई साझा संस्थाका रुपमा स्थापीत गर्ने योजनाका साथ मैले युवा संयोजकमा उम्मेदवारी दिन लागेको हुँ ।”

संघको बिभिन्न तह र तप्कामा रहेर लामो समयदेखि गरेको काम र योगदान नै आफ्नो जितको मूख्य आधार भएको उनको भनाई छ ।युवा संयोजकको उम्मेदवारका रूपमा प्रस्तुत भएका अधिकारीले आफूलाई मतदान गर्न बिश्वभरका प्रतिनिधिहरुलाई बिशेष आग्रह समेत गरेका छन् ।

धादिङ बेसीशहरका अधिकारी गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व युवा संयोजक तथा अन्तराष्ट्रिय धादिङ समाजका सल्लाहकार समेत हुन् ।