आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन मुस्किल !

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार ०७:३६ मा प्रकाशित (६ महिना अघि) १२९ पाठक संख्या

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

दिउँसो १ बजेपछि बस्ने प्रदेशसभा बैठकमा एमाले नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्नेछन् । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम २२ भदौमा मुख्यमन्त्री बनेका कार्कीले उपधारा (४) अनुसार आजसम्म मत लिनैपर्छ । त्यसपछि उनी मुख्यमन्त्री रहने वा नरहने भन्ने टुङ्गो लाग्ने छ । उनी प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए ।

प्रदेशको समीकरण हेर्दा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन मुस्किल देखिन्छ । ९३ सदस्यीय प्रदेशसभामा उपसभामुख सिर्जना दनुवारसहित एमालेका ४० जना सांसदको समर्थन कार्कीका लागि अपर्याप्त छ । उपसभामुख दनुवारले सभाको अध्यक्षता गर्नुपर्ने भएकाले उनले मत दिन पाउँदिनन् । त्यसैले कार्कीलाई हाल एमालेका ३९ सांसदको मात्रै समर्थन रहेको देखिन्छ । बहुमत पुग्न ४७ सांसदको आवश्यकता पर्छ ।

६ सांसद रहेको राप्रपाले एमालेको साथ छोडिसकेकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीमध्ये कुनै एक दलको समर्थन लिन सके भने मुख्यमन्त्रीलाई सजिलो हुने छ । तर, यो पनि उनका लागि कम अप्ठेरो काम होइन ।

कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय संसदीय दलबाट गरिसकेको छ । माओवादी र समाजवादीका नेताहरूले पनि कार्कीलाई समर्थन नगर्ने बताउँदै आएका छन् ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत नपाएमा वा राजीनामा दिएमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन हुने छ । उपधारा (५) अनुसार, कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने देखिएमा प्रदेश प्रमुखले उसैलाई मुख्यमन्त्री नियुक्त गर्न पाउँछ ।

गठबन्धनमा रहेको कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ जना सांसद छन् ।