आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

कोशी विवाद : थापालाई पदमुक्त गर्दै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

गोकर्णेश्वर खबर२२ भाद्र २०८०, शुक्रबार १०:१९ मा प्रकाशित (७ महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको छ । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।

अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ ।