आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन छैन् : राजेन्द्र लिङ्देन

गोकर्णेश्वर खबर१२ भाद्र २०८०, मंगलवार १५:२७ मा प्रकाशित (८ महिना अघि) ६५ पाठक संख्या

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको दाबी गरेका छन् ।

मध्यपूर्वको भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका लिङ्देनले आफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे । समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उनले भने, ‘कुनै लेनदेनको सहमति भएको छैन ।’

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच भएको भागबण्डामा आफूले पाएको पूर्वाधार विकास समितिको सभापति माओवादी केन्द्रले अन्तिम समयमा राप्रपालाई दिएको थियो । त्यसक्रममा कोशीमा सभामुख र एउटा मन्त्री लिएर कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमति भएको सत्तारुढ नेताहरुको दाबी थियो ।

राप्रपा अध्यक्ष लिङ्देनले भने कोशी प्रदेशमा प्रक्रियागत रुपमै राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताए । उनले अघि भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल अवस्थामा छ । सभामुख लिन कसैसँग सौदा गर्नै पर्दैन ।’

१० पुसको गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अंकगणितलाई हेरेर आफूहरुले नलिएको उनको दाबी छ ।

संसदीय गणितमा कुनै भूमिका नहुनसक्ने देखेपछि सभामुख नलिएको भन्दै उनले भने, ‘सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौं भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।’

संविधानका विभिन्न धाराहरु उपयोग गर्ने क्रममा आवश्यक निर्णय गर्दै जाने समेत लिङ्देनले बताए ।