आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

केदारनाथ पहिराे : तीन नेपालीकाे मृत्यु, आठ अझै बेपत्ता

गोकर्णेश्वर खबर२० श्रावण २०८०, शनिबार ०७:१३ मा प्रकाशित (९ महिना अघि) १८७ पाठक संख्या

काठमाडौं । भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी तीन नेपालीको मृत्यु भएको छ । अन्य आठ जना बेपत्ता रहेका छन् । मृतक तीनैजना जुम्ला पातारासी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार मृत्युहुनेमा सोही गाउँपालिका वडा नम्बर २ का ५६ बर्षीय धनराम बुढा, २२ बर्षीय नन्द नेपाली र वडा नम्बर ३ का ४१ बर्षीय सुकराम रावत रहेका छन् ।

उनीहरूको भारतीय प्रहरीले सनाखत गरेको बताइएको छ । बोहराले बाँकी आठ जना पातारासी, तिला र तातोपानी गाउँपालिकाका नागरिक रहेको जानकारी दिनुभयो । सो पहिरोमा तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस पनि भएको जनाइएको छ । पहिरोमा ११ नेपालीसहित जम्मा १९ जना बेपत्ता भएका थिए ।

यसैबीच, गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरू बसेको होटेल नै पहिरोमा परेको थियो। केदारनाथ पहिरोमा बेपत्ता भएका जुम्लाका नागरिकहरूको जानकारी लिनका लागि प्रहरी टोली गाउँपालिकातर्फ परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।