आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

आज साउन १५, घरघरमा खीर खाएर मनाइँदै

गोकर्णेश्वर खबर१५ श्रावण २०८०, सोमबार ०९:४५ मा प्रकाशित (९ महिना अघि) ११५ पाठक संख्या

काठमाडौं । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । साउन १५ पछि लोकमा जाडो शुरु हुने मानेर ताप प्राप्त हुने पोषिलो परिकार खीर खाने चलन चलेको जनकथन छ ।

खीर नेपालीहरुबीच लोकप्रिय साँस्कृतिक पकवानको रुपमा परिचित रहेको छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ ।

ऋतु अनुसार प्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ ।

दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईएको खीर शक्तिवर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ ।

मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेलाअनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ । यस्ता परिकारले मानव शरीर स्वस्थ राख्न सहयोग गर्ने बताइन्छ ।