आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

जनमत पार्टीले गर्‍यो पूर्वसांसद कुशवाहासहित ५ नेतालाई निलम्बन

गोकर्णेश्वर खबर४ श्रावण २०८०, बिहीबार ०९:५० मा प्रकाशित (९ महिना अघि) १३७ पाठक संख्या

काठमाडौँ । जनमत पार्टीले पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै उनीहरूलाई कारवाही गरेको हो।

जनमतका उपाध्यक्ष तथा समिति प्रमुख दीपककुमार साहका अनुसार कुशवाहासहित गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारवाही गरिएको हो।

कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप लागेको छ। उनलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीले कारवाही गरेको छ।

मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचन र खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए। उनीहरूलाई १ वर्षका लागि निलम्बन गरिएको उपाध्यक्ष साहले जानकारी दिए।

कपिलबस्तु पार्टीका बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनता पटकपटक प्रदर्शन गरेको भन्दै भगवान दास यादवलाई पनि १ वर्षका लागि पार्टीले निलम्बन गरेको छ।

भोपेन्द्र यादवले केन्द्रीय निर्देशनको उल्लघंन गरेको र गर्न लगाई गुटबन्दी गरेको भन्दै ३ महिनाका लागि कारवाही गरिएको जानकारी साहले दिएका छन्।