आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

संसदमा सांसद चालिसेको प्रश्न : पानीको पैसाचाहिँ समयमा तिर्नुपर्ने पानीचाहिँ लेदो, धुलोसहित खानुपर्ने ?

गोकर्णेश्वर खबर२९ असार २०८०, शुक्रबार २१:५२ मा प्रकाशित (९ महिना अघि) २१९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता एव्म प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले काठमाडौं उपत्यकाका जनता लेदो तथा धुलोसहितको पानी खान बाध्य भएको भन्दै संसदमा प्रश्न उठाएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै चालिसेले काठमाडौं उपत्यकाका नागरिकले स्वच्छ पानी पिउनबाट बञ्चीत रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

“काठमाडौं उपत्यकामा स्वच्छ खानेपानी प्राप्त हुन सकेको छैन । अहिले ट्याङ्करबाट प्राप्त पानी खानेपानी हो कि, भाँडा माझ्ने पानी हो पत्तो पाइँदैन । सबैजना त्यही पानी खान बाध्य भइरहेका छौँ,” सांसद चालिसेले भने “अहिले मेलम्चीको खानेपानी पनि रोकिएको अवस्था छ । सुन्दरीजलबाट आउने पानीमा आज महिनौं दिनदेखि लेदो पानी, धमिलो पानी सबैको घर(घरमा गएको छ । पर्याप्त पानी पनि छैन र आएको पानी पनि धमिलो ।”

उनले पानी संकलन केन्द्रमा फिल्टरको व्यवस्था हुनुपर्ने माग गरे । “त्यहाँ फिल्टरको व्यवस्था हुन सकेको छैन । यसमा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भने । उनले पानीको पैसा समयमै तिरिरहेको भएपनि स्वच्छ पानी प्राप्त नहुँदा जनता मारमा परेको बताए । उनले  पैसाचाहिँ समयमा तिर्नुपर्ने, स्वच्छ खानेपानीको पैसा तिर्नुपर्ने अनि पानीचाहिँ लेदो, धुलोसहित खानुपर्ने भन्दै प्रश्न गरेका छन् ।