आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

एमालेले संसद अवरोध गरेसँगै निष्क्रिय भयो मिटरब्याजसम्बन्धी अध्यादेश

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार १८:११ मा प्रकाशित (१0 महिना अघि) १४० पाठक संख्या

काठमाडौं । सरकारले मिटरव्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ।

अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिनेजस्तो गम्भीर कार्यलाई फौजदारी कसूर कायम गरी त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई सजाय दिन सरकारले अध्यादेश ल्याएको थियो।

अध्यादेश ६० दिनभित्र प्रतिस्थापन नहुने निश्चित भएपछि निष्क्रिय भएको हो।

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको प्रतिस्थापन विधेयक आजसम्म पारित गर्नुपर्ने थियो। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा सुनाउनुपर्ने भए पनि राष्ट्रिय सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएसँगै यो अध्यादेश निष्क्रिय भएको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० मा अध्यादेश जारी गरेका थिए।

त्यसको ४ दिनपछि प्रतिनिधि सभामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले अध्यादेशको प्रति प्रतिनिधि सभामा पेश गरेका थिए।

राष्ट्रिय सभामा भने सरकारले ढिलो गरी अध्यादेशको प्रति दर्ता गरेको थियो। मन्त्री गुरूङले असार ५ मा राष्ट्रिय सभामा दर्ता गरेको प्रतिस्थापन विधेयकमाथि असार १० मा सामान्य छलफल भई गत असार १५ गते पारित भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्लीमा कुरा राखेको अभिव्यक्ति दिएपछि नेकपा एमालेले बुधबार राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक अवरोध गरेका छन्। यही अवरोधका कारण राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।