आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

तामाङ संस्थाहरूद्वारा चेतावनी- गल्ती नसच्याए सशक्त प्रतिरोध गर्ने

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०९:५४ मा प्रकाशित (१0 महिना अघि) २७९ पाठक संख्या

तामाङ समुदायको सांस्कृतिक बाजा डम्फुलाई तोडमोड गरिएको बारे तामाङ सङ्घसंस्थाहरूद्वारा विज्ञप्ति जारी गरी निन्दा र भर्त्सना जनाइएको छ ।

डम्फु माथि केही दिन पहिले क्रिस्चियन धर्म प्रचारक मदन मोक्तानले सो धर्मको प्रतीक क्रुसको चिन्ह प्रयोग गरी डम्फुको उत्पत्ति कथा समेतमा गलत सन्देश जाने गरी निर्माण गरिएको श्रव्यदृष्य भजन सामग्री युट्युब च्यानल र सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएमा विरोध जनाइएका हुन् ।

‘सांस्कृतिक बाजा डम्फु तामाङ समुदायको आदिम पुर्खा म्हेमे पेङदोर्जेले नेपालको ताम्सालिङ भूमिमा आविष्कार गरेका हुन् । यस्तो ऐतिहासिक सभ्यतासँग जोडिएको बाजालाई पश्चिमा धर्म गुरु (प्रभु) ले निर्माण गरेको भनी प्रचार गर्नु र नितान्त सांस्कृतिक बाजामा धर्मको क्रस चिन्ह प्रयोग गर्नु आफैमा निन्दनीय र कपोलकल्पित, भ्रामक प्रचारबाजी हो भन्ने हाम्रो ठहर रहेको छ।’‚ तामाङ घेदुङसहित १७ वटा संस्थाहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘कुनै पनि व्यक्तिको धर्म रोज्न पाउने नैसर्गिक मानवअधिकार र सबै जाति, समुदायको धर्म, संस्कृतिप्रति हाम्रो उच्च सम्मान छ। तर कसैको धर्म, संस्कृतिमाथि भएको यस खाले हस्तक्षेप, प्रहार र असहिष्णुतापूर्ण व्यवहारको पनि हामी उत्तिकै निन्दा र भर्त्सना गर्दछौ‚’ नेपाल तामाङ घेदुङका महासचिव काजीमान थिङले भने ।

यस्तै तामाङ कलाकार सङ्घका अध्यक्ष विश्व दोङले धर्म प्रचारको नाममा भ्रमपूर्ण प्रचारबाजीले नेपाली समाजको धार्मिक‚ सांस्कृतिक विविधता र सहिष्णुतामा खलल पुग्ने हुँदा यस्तो कार्य गर्नु निन्दनीय रहेको औँल्याएका छन् ।

यस्तै तामाङ कलाकार सङ्घ‚ तम्बा सङ्घ‚ तामाङ डाजाङ‚ दाङवोला ग्युईठिम तामाङ सङ्घ‚ तामाङ बौद्ध महासङ्घ नेपाल‚नेपाल तामाङ मौलिक व्हाईला न्हान‚ सिन्धुपाल्चोक खान्दोके तामाङ लगायतका संस्थाहरूले विज्ञप्तिमार्फत भनिएको छ‚ ‘भ्रामक प्रचारबाजीले धार्मिक, सांस्कृतिक विविधता र सहिष्णुतामा खलल पुग्न गएको हुँदा तत्काल उक्त सामग्री सामाजिक सञ्जाल, युट्युब च्यानलबाट हटाउनुका साथै आगामी दिनमा यस खालको गल्ती नदोहोऱ्याउने गरी यसबाट आँच पुग्न गएको तामाङ समुदाय समक्ष माफी माग्न र आत्मआलोचित हुन आग्रह गर्दछौ । अन्यथा यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुने समेत अग्रिम सुसूचित गर्न चाहन्छौ ।’

इन्टरनेशनल तामाङ स्पीकिङ क्रिश्चियन फेलोसिप नामक फेसबुक पेजबाट उक्त घट्ना नदोहोरिने बताउँदै क्षमा मागेका छन् भने आधिकारिक संस्थागत धारणा सार्वजनिक भने भएको छैन ।