आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

रंगशालाबारे धुर्मुसले भने- “म भागेर कतै गएको छैन्,मलाई पलपल नमारिदिनुस्”

गोकर्णेश्वर खबर७ चैत्र २०७९, मंगलवार १९:५० मा प्रकाशित (१ साल अघि) २४ पाठक संख्या

काठमाडौँ । सिताराम कट्टेल ‘धुर्मुस’ले आफूले २ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन्। ‘धुर्मुस सुन्तली फाण्डेसन’को फेसबुक पेजमा एक भिडिओ शेयर गर्दै सितारामले मानसिक यातना भोगिरहेको उल्लेख गरेका हुन्।

उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा कतैबाट सहयोग नपाएको गुनासो समेत गरेका छन्।

उनले भिडिओमा भनेका छन्, ‘आज जुन उचाइमा क्रिकेट पुगेको छ। यो अवस्था हेर्दा रंगशाला आवश्यक हो कि होइन्, यही आवश्यकतालाई हेरेर मैले यो बनाउने प्रयास गरेँ, के यो गर्नु गल्ति हो? यदि यो बनेको भए, रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था आउँदैन थियो होला, मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिएको हुँ।’

उनले उक्त रंगशाला आफूले नछोडेको पनि बताएका छन्। बनाउन नसकेर स्थगित भएको तर अरु कसैलाई नदिएको उनको तर्क छ। उनले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेका छन्।

रंगशाला निर्माणमा नेपाल सरकारले असहयोग गरेको धुर्मुले बताएका छन्। उनले अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नगरेको गुनासो गरेका छन्।

उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताए । एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले भने, ‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’

‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ उनले भने ।

धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद दिएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले भने, ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्‍याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’