आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

पीएनजीमाथि नेपालको सहज जित, नेपाल चौथो स्थानमा उक्लियो 

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७९, सोमबार २१:०० मा प्रकाशित (१ साल अघि) ५२ पाठक संख्या

२९ फागुन, काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।

जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाए। कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाए। बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाए। सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाए।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै २५ रन खर्चिएर पाँच विकेट लिएका हुन् । सन्दिप प्लेयर अफ दि म्याच भए । यस्तै ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झारे ।

यस सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रन र दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराएको थियो । जितसँगै चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अङ्क बनाएको छ ।

समान खेलबाट ११ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । लगातार जितसँगै नेपाल विश्वकप छनोट खेलबाट अब एक खेलमात्र टाढा रहेको छ ।

नेपालले अब लिगकै अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराएमा आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।

यसअघि आइतबार युएईलाई हराएर लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाललाई लिगको तेस्रो स्थानमा रहन अब पुनः युएईलाई हराउनु पर्ने बाध्यता छ । नेपालले सिरिजको अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ ।

३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।