आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेपाल यू–१९ विश्वकपमा छनोट

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७९, बिहीबार २१:१२ मा प्रकाशित (१ साल अघि) २१ पाठक संख्या

१८ फागुन, काठमाडौं । नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हरायो ।

युएईलाई हराउनैपर्ने फाइनल सरह अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो । युएईका लागि इथान काल्लले सर्वाधिक ५० रन बनाए ।

आर्यान सक्सेनाले ३४, आर्याश शर्माले ३२ रअम्मर बदामीले १९ रन बनाए । बलिङमा नेपालका दीपेश कँडेलले पाँच विकेट लिए । सुवास भण्डारी र हेमन्त धामीले दुई दुई विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । खनालले ५१ रन बनाए ।

विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा युएईका ध्रुव परासरले तीन, कप्तान आयन खान र हरितहर्ष सिट्ठीले दुई दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक एक विकेट लिए ।