आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

प्रदेश १ को नाम प्रदेश सभामा आज पेश हुन सक्ने

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७९, बुधबार ११:१५ मा प्रकाशित (१ साल अघि) २८ पाठक संख्या

१७ फागुन, काठमाडौं । प्रदेश १ को संसद्ले दोश्रो कार्यकालको पहिलो अधिवेशनबाटै प्रदेशको नाम विषय टुङ्गो लगाउने प्रयास गर्ने भएको छ । पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले दोश्रो कार्यकालको पहिलो अधिवेशनबाटै प्रदेशको नाम विषय टुङ्गो लगाउने प्रयास गर्ने भएको हो । प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरेको छ ।

सत्तारुढ पार्टीका बिच कोशी नाममा दलहरुबीच सहमति भइसकेको छ । प्रदेशको नाम सकेसम्म एकै दिनमा पारित गर्ने गरि तयारी भईरहेको समेत चर्चा बाहिर आएको छ ।

अघिल्लो संसद्मा प्रदेशको नामकरणको विषयमा टुङ्गो लगाउन दलहरुबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन । नामकरणको टुङ्गो लगाउने विषयमा छलफल हुनासाथ बाहिर पहिचान वादी राजनीतिक पार्टी तथा सङ्घ सङ्गठनहरूले दबाब दिन विभिन्न सङ्घर्षको कार्यक्रम हुन्थ्यो ।

यस पटक पनि सार्वजनिक हिसाबले नामकरणको टुङ्गो लगाउने प्रयास हुँदा अनावश्यक प्रभाव र दबाब आउन सक्ने सम्भावना थियो । त्यही कारण प्रदेशको नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने लगभग सहमति भईसकेको छ ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुङ्गो लगाउन ६३ जना सांसद चाहिन्छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामाकरणको टुङ्गो लगाउने तयारी गरिएको छ ।