आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

स्कटल्यान्डविरुद्धको खेलमा नेपाल पहिला फिल्डिङ गर्दै

गोकर्णेश्वर खबर९ फाल्गुन २०७९, मंगलवार १०:१५ मा प्रकाशित (१ साल अघि) २६ पाठक संख्या

९ फागुन, काठमाडौं । नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ रोजेको छ । नेपालले टस जितेपछि स्कटल्यान्डलाई ब्याटिङका लागि बोलाएको हो । नेपालले त्रिकोणात्मक शृंखलामा लगातार चौथो पटक टस जितेको हो ।

नेपालले पहिलो तीन खेल जितेको छ र स्कटल्यान्डसँगको खेल जितेमा क्लिन स्विप गर्नेछन् । नेपालले यसअघिको ६ शृंखलामा २ खेल भन्दा जित्न सकेको थिएन् । नेपालले यसै शृंखलामा स्कटल्यान्डविरुद्धको खेलमा ३ विकेटको विजय हात पारेको थियो ।

स्कटल्यान्डले नामिबियाविरुद्ध यस शृंखलामा दुवै खेल जितेको छ । नेपालले अघिल्लो दिन नामिबियाविरुद्धको खेलबाट लिएम नेलरको स्थानमा जर्ज मुन्सीलाई टोलीमा फिर्ता बोलाएको छ । नामिबियाको पहिलो खेलमा अविजित शतक बनाएका मुन्सीले त्यसपछिका दुई खेल खेलेका थिएनन् ।

नेपालविरुद्धको खेलमा नखेलेका मुन्सीसहित काएल कोएटर र साफियन सरिफलाई आजको खेलमा खेलाएको छ । नेपालले तीव्र बलर गुलशन झाको स्थानमा देव्रेहाते स्पिनर ललित राजवंशीलाई टोलीमा राखिएको छ ।

स्कटल्यान्ड ३५ खेलमा ५० अंकसहित यसअघि नै विजेता बनिसकेको छ र आजको खेल लिग २ मा टोलीको अन्तिम खेल हो । स्कटल्यान्डलाई आज खेल समाप्तपश्चात विजेता ट्रफी पनि दिने कार्यक्रम रहेको छ ।