आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नामिबियामाथि नेपालको शानदार जित 

गोकर्णेश्वर खबर६ फाल्गुन २०७९, शनिबार २०:१५ मा प्रकाशित (१ साल अघि) ७२ पाठक संख्या

६ फागुन, काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । यी दुईले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेपछि नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍यो ।

घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालको यो लगातार तेश्रो जित हो । नौ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए । जसमा आशिफले ९८ बलमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए ।

त्यसपछि आएका कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ६२ रन बनाए । त्यस्तै, रोहित पौडेलले ३९, सोमपाल कामीले आठ, सन्दीप जोराले तीन तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एकएक रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलमनले तीन, बेनार्ड स्कल्जले दुई र टंगेनी लुंगामेनी एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए । नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ ।