आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा, पाँच सदस्यीय जाँच आयोग गठन

गोकर्णेश्वर खबर१ माघ २०७९, आईतवार १७:१० मा प्रकाशित (१ साल अघि) ८६ पाठक संख्या

१ माघ, काठमाडौं । नेपाल सरकारले यति एयरलाइन्स विमान दुर्घटनाका परी निधन हुनुभएका यात्रुहरूप्रति गहिरो शोक प्रकट गर्दै सोमबार शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज (आइतबार) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो ।

पाँच सदस्यीय जाँच आयोग गठन 

यसैगरी, मन्त्रिपरिषद् बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच आयोग पनि गठन गरेको छ ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो । आयोगमा सदस्यहरु हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र सदस्य सचिव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।