आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

मौन अवधिको उल्लङ्घन भए २५ हजार जरिवाना

गोकर्णेश्वर खबर२ मंसिर २०७९, शुक्रबार १०:४२ मा प्रकाशित (१ साल अघि) ४२ पाठक संख्या

२ मंसिर, काठमाडौं । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीवार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीवारको बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।