आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

बेलायतको ५७ औँ प्रधानमन्त्री बने भारतीय मूलका ऋषि सुनक

गोकर्णेश्वर खबर९ कार्तिक २०७९, बुधबार ०७:२१ मा प्रकाशित (१ साल अघि) ६७ पाठक संख्या

९ कार्तिक, काठमाडौं । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्रीमा सुनक प्रधानमन्त्री बनेका हुन् ।

राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै औपचारिक रूपमा सुनक त्यहाँको ५७ औँ प्रधानमन्त्री बनेका हुन् । दुई सय वर्षको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनिन् । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि ट्रसले चर्को आलोचना खेप्नु परेको थियो ।

गत बिहीबार उहाँले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए । तर, बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उहाँ बाहिरिएका थिए ।

सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सर्नुभएका भारतीय मूलका आमाबाबुका सन्तान हुन् । उनी हिन्दु धर्मावलम्बी हुन् ।