आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वर नगरपालिकासँग पोखरा महानगरपालिकाले भगिनी सम्वन्ध गाँस्ने

गोकर्णेश्वर खबर१३ भाद्र २०७९, सोमबार ०८:३३ मा प्रकाशित (१ साल अघि) २०३ पाठक संख्या

१३ भदौ, काठमाडौं । पोखरा महानगरपालिकाका नगर प्रमूख धनराज आचार्यले गोकर्णेश्वर नगरपालिकासँग अन्तरपालिका भगिनी सम्वन्ध गाँस्ने बताएका छन् ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको मैत्री सन्देशलाई सराहनीयरुपमा लिंदै आचार्यले अन्तरपालिका भगिनी सम्बन्ध कायम गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आचार्यले गोकर्णेश्वर नगरपालिकाको सूचना प्रविधिमा भएको प्रगति, वातावरणमा प्रतिकुल असर नपर्ने गरी फोहर जलाउने इन्सिनेटर मेशिनको शुरुवात, पवित्र वागमती नदी, पितृमोक्ष धामको रुपमा रहेको पौराणिक गोकर्णेश्वर महादेव मन्दिर, उत्तरगया धामको महात्मीयता र सुन्दरीजल, शहिदपार्क लगाएतका पर्यटकीय स्थलहरुको सम्बन्धमा प्रसंशा गर्दै पर्यटकीय विकासमा दुई नगरपालिकाले एक आपसमा समन्वय गर्न सक्ने बताए ।

पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापनार्थ गोकर्णेश्वर नगरपालिकाका कर्मचारी टोलि पोखरा पुगेको छ । पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापनार्थ गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको मैत्री सन्देशका साथ आपसी असल अभ्यासहरुको आदान–प्रदान र अध्ययन–अवलोकन कार्यका लागी गोकर्णेश्वर नगरपालिकाका अधिकृत भूपेन्द्र बोहराको नेतृत्वमा ६ सदस्यीय कर्मचारीहरुको टोलि पोखरा महानगरपालिकामा गएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको समुपस्थिति एवं प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको सहजीकरणमा भाद्र १० गते शुक्रवारका दिन पोखरा महानगरपालिकाको सभाहलमा गोकर्णेश्वर नगरपालिकाको प्रस्तुति भएको भएको थियो ।

उक्त प्रस्तुतीसँगै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमूख दीपक कुमार रिसालको पोखरा महानगरपालिकाका नगर प्रमूख धनराज आचार्यलाई अन्तरपालिका भगिनी सम्बन्ध स्थापनार्थ पठाइएको सन्देश वाचन गरी हस्तान्तरण गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाको प्रस्तुती र महानगर प्रमुखको सम्बोधन सम्पन्न भए पश्चात् महानगरका महाशाखा तथा शाखा प्रमूखहरुसँग छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।