आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

जनता ठग्ने मिटरब्याजीहरुलाई सरकारले कारवाही गर्ने

गोकर्णेश्वर खबर७ भाद्र २०७९, मंगलवार ०८:०० मा प्रकाशित (१ साल अघि) १४८ पाठक संख्या

७ भदौ, काठमाडौ। गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन् ।

गृह मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन् । गृहमन्त्री खाणले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए ।

गृहमन्त्रीले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दावी गरे ।

मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको पनि बताए । मन्त्री खाणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रह गरिएको समेत बताए । उनले मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमान गरे भन्दा धेरै रहेको पनि जानकारी दिए ।

उनले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी परेको बताए । मन्त्री खाणका अनुसार प्रदेश १ मा ९२, मधेश प्रदेशमा १ हजार ३३०, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बीनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति र कार्यक्रममा नै आएको पनि मन्त्री खाणले बताए ।