आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

अनुमति नलिईएको घर नक्सा अभिलेखीकरणका लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

गोकर्णेश्वर खबर३० श्रावण २०७९, सोमबार २०:५० मा प्रकाशित (१ साल अघि) २७७ पाठक संख्या

३० साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अनुमति नलिईएको घर नक्सा अभिलेखीकरण गर्नका लागि नगरवासीहरुका लागि सूचना जारी गरेको छ ।

नगरपालिकाले नवौं नगरसभाको बैठकको निर्णय अनुसार नगरपालिका क्षेत्रमा घर नक्सा अनुमति नलिई निर्माण भएका र तला थप भएका पक्की घरहरुको न्यूनतम मापदण्ड हेरी घर नक्सा अद्यावधिकको प्रक्रिया अघि बढाउने भनी निर्णय भएको सूचनामा जनाएको छ ।

नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस नगर कार्यपालिकाको कार्यालयमा सम्बन्धित वडा कार्यालयको सिफारिस तथा घर बनेको जग्गाको लालपुर्जा र जग्गाधनीको नागरिकताको प्रतिलिपि सहित निवेदन पेस गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले साउन २९ गते जारी गरेको सूचनामा भनिएको छ- ‘यस गोकर्णेश्वर नगरपालिकाको मिति २०७९/०३/२५ गते बसेको नवौं नगरसभाको बैठकको निर्णयले यस नगरपालिका क्षेत्रमा घर नक्सा अनुमति नलिई निर्माण भएका र तला थप भएका पक्की घरहरुको न्यूनतम मापदण्ड हेरी घर नक्सा अद्यावधिकको प्रक्रिया अघि बढाउने भनी निर्णय भएको हुँदा बस्ती विकास, शहरी विकास तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ लागू हुनु भन्दा अगाडि निर्माण भएका घरहरुको अभिलेख अद्यावधिकको लागि यस नगरपालिकाका ईन्जिनियर स्थलगत रुपमा खटिई राजकुलो, हाइटेन्सन लाइन, पर्ति जग्गा, खहरे खोला, सडक आदिको मापदण्ड पालना भएका घरहरुको नक्सा अद्यावधिक गर्ने प्रक्रिया अघि बढाईने हुँदा माथि उल्लेखित अनुमति नलिई बनेका घरहरुका घरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस नगर कार्यपालिकाको कार्यालयमा तपसिल बमोजिमका कागजात सहित निवेदन पेस गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’