आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मतगणना कार्यलाई तोकिएको अवधिमा सम्पन्न गर्न निर्वाचन आयोगको आग्रह

गोकर्णेश्वर खबर१ जेष्ठ २०७९, आईतवार १५:५८ मा प्रकाशित (१ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं, जेठ १ गते । मतगणना कार्यमा ढिलाई भएको नागरिकस्तरबाट गुनासो भइरहेका बेला सो कार्यलाई अझ व्यवस्थित बनाई तोकिएको अवधिभित्र सम्पन्न गर्न गराउन निर्वाचन आयोगले सरोकारवालासँग आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।

“स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने, मतगणना कार्यमा खटिएका कर्मचारीहरुले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका ९संशोधन सहित० को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिहरु व्यवस्थित र अनुशासित भएर काम गर्न आग्रह गर्दछ” आयोगले भनेको छ, “छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग आयोग आग्रह गर्दछ ।”

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनियतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय नबनाउन आयोगले आग्रह गरेको छ ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “सामान्य विषयलाई विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”

आयोगको पूर्व योजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर परेको भन्दै मतगणना निर्देशिकाको व्यवस्था, आयोगबाट दिइएको निर्देशन तथा विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जिज्ञासामा आयोगबाट गरिएको निर्णय समेतको आधारमा जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न आयोगले भनेको छ ।

गणनामा ढिलाई भएको ठाउँमा नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीहरुलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउन आयोगले आग्रह गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

(गोरखापत्र अनलाइन)