आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आज रातिदेखि रसुवागढी नाका बन्द

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार २०:४७ मा प्रकाशित (१ साल अघि) ३५६ पाठक संख्या

रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो ।

स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घन्टा अगाडि नाका बन्द गरिएको उनले बताए ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै मंगलबार रातिदेखि शुक्रबार रातिसम्म नाका बन्द हुने जानकारी चिनियाँ पक्षलाई गराइसकेको उनले बताए । मंगलबार चिनिया पक्षले चिनिया १४ कन्टेनर सामान नेपाली भूमिमै ल्याइदिएका थिए । नाका शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ । नाका बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ ।

कोरोना महामारी सुरुभएसँगै चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपाल तर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ९ चिनियाँ गाडीमै नेपाल सामान आयात हुने गरेको छ ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई ओटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरुभएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

त्यसैगरी निर्वाचनलाई मध्यनजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएको जनाइएको छ ।