आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७८, शुक्रबार ०७:५६ मा प्रकाशित (२ साल अघि) १५७ पाठक संख्या

काठमाडौँ । आज (शुक्रबारं) मधेसबाहेक देशका अन्य सबै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परिरहेको छ। जसका कारण अहिले (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना महाशाखाको बुलेटिनमा उल्लेख छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आंशिक बदली भए पनि वर्षा हुने सम्भावना हुन्छ। ‘त्यसैले आंशिक बदली भएका प्रदेशभर नै वर्षाको सम्भावना हुन्छ’, मौसमविद् मानन्धरले शुक्रबार बिहान भनिन्।

उनका अनुसार आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज शुक्रबार राति सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ र देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।