आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

एमसीसीका कारण गठबन्धन टुट्ने स्थितिमा,सरकारबाट बाहिरिने माओवादीको संकेत

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७८, शुक्रबार ०७:४२ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने स्थितिमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट एमसीसी पारित गर्ने हो भने सरकारमा नरहने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएपछि गठबन्धन टुट्ने अवस्थामा पुगेको हो । बिहीबारको भेटमा प्रधानमन्त्रीलाई आफूले एमसीसी अनुमोदन भए सरकारबाट बाहिरिने बताएको प्रचण्डले ब्रिफिङ गरेका छन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले प्रधानमन्त्री देउवालाई प्रचण्डले सरकारबाट बाहिरिने स्थितिको विषयमा बिहीबार जानकारी गराएको बताए । अध्यक्षले प्रधानमन्त्रीसँगको छलफलमा एमसीसीको पक्षमा उभिन नसकिने र पारित भए सरकारबाट आफ्नो दल बाहिरिने जानकारी गराएको बताउनुभएको छ, पोखरेलले भने ।

प्रचण्डले यस्तो जानकारी गराएपछि प्रधानमन्त्री देउवाले संभावित सहकार्यका निम्ति प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गरेका थिए । देउवाले बिहीबार एमालेसँग संसद भवन र बालुवाटारमा दुई चरणको छलफल गरे । संसद भवनमा भएको छलफलमा एमालेका सबै विकल्पमा आफू छलफल गर्न तयार रहेको देउवाले बताएका थिए । आफ्ना सबै विकल्पमा छलफलका निम्ति प्रधानमन्त्री तयार रहेको बुझेपछि साँझ सात बजे बालुवाटारमा दुई दलले फेरि छलफल गरेका थिए । दुई घण्टा दोस्रो तहका नेताको समेत उपस्थितिमा छलफल भएको थियो भने करिब १५ मिनेट देउवा र ओलीबीच मात्रै छलफल भएको थियो ।

त्यस छलफलमा एमालेले सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने र आफूले कारबाही गरेका १४ सांसदको कारबाही यथावत रहनुपर्ने अडान कायम राखेको थियो । यो माग पूरा भएको अवस्थामा मात्रै संसदमा विरोध अन्त्यको वातावरण निर्माण हुने र एमसीसीमा प्रधानमन्त्रीलाई सघाउन सकिने जानकारी आफूले गराएको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए ।हामीले १४ सांसदलाई गरेको कारबाही सदर हुनुपर्ने र सभामुखलाई हटाउनुपर्ने बटमलाइन राख्यौँ । त्यसमा कुनै पनि सहमति जुट्न सकेन, उनले भने ।

यस्तै बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले माओवादी अध्यक्ष प्रचण्डले नै गठबन्धन टुट्ने जानकारी प्रधानमन्त्रीलाई गराएपछि पाँच दलीय गठबन्धन टुट्ने बाटोमा पुगेको प्रधानमन्त्रीको समेत निष्कर्ष रहेको बताए । सरकारले ल्याएको प्रस्तावको विपक्षमा बस्ने र प्रचण्डले नै गठबन्धन टुट्ने जानकारी गराएपछि अब गठबन्धन त टुट्ने बाटोमै गयो नि , थापाले भने ।

गठबन्धनसँगको सहकार्य अन्त्य हुनेस्थिति देखापरेपछि देउवाले प्रतिपक्षीसँगको सहकार्यका निम्ति हात अघि बढाएका हुन् । त्यस भेटमा देउवाले एमसीसीमा सहयोगका लागि ओलीलाई आग्रह गरेका थिए । तपाइँले एमसीसी दर्ता गर्दा हामीले कुनै मुद्दा बनाएका थिएनौँ । यसलाई धेरै राजनीतीकरण नगरौँ । साना दलहरूले यो विषयलाई धेरै गिजोले एमसीसीको विषयमा अब एक ठाउँमा उभियौँ, देउवाको प्रस्ताव थियो ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । सभामुखले सैद्धान्तिक छलफलकै प्रस्तावमा मतविभाजन गर्ने तयारी गरेको सुइँको पाएपछि देउवाले प्रतिपक्षी दलसँग छलफल गर्नुपर्ने भन्दै बैठक स्थगितको आग्रह गरेका थिए । एमसीसीको प्रस्तावको छिनोफानो कसरी गर्ने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था समितिमा प्रस्ट रुपमा भन्नुभएन । वेलमा नाराबाजी गरिरहेको एमालेको गणना गर्ने वा नगर्ने विषयमा प्रस्ट पार्नुभएन । सैद्धान्तिक छलफलमै मतविभाजन गरेर यसलाई तुहाउने संकेत देखेपछि प्रधानमन्त्रीले प्रतिपक्षीसँग छलफल गरेर प्रक्रियामा प्रस्ट हुन खोज्नुभएको थियो, कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले भनिन् ।

कांग्रेससँग सहकार्य तोड्न लागेको जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेलाई समेत गराएका छन् । बिहीबार उनले संसद भवनमा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । छलफलमा ओलीले सहकार्यका निम्ति तीन बुँदा अघि सारेका थिए । त्यस बुँदामा उनले आफूमाथि नेकपाकालीन अवस्थामा लगाइएको आरोपको समीक्षा र खारेजी हुनुपर्ने, १४ सांसद माथिको कारबाही सदर हुनुपर्ने र सभामुखलाई हटाउनुपर्ने अडान राखेका थिए । त्यसपछि प्रचण्डले यी विषयमा निरन्तर छलफल गरेर निर्णय लिने तर, राष्ट्रिय राजनीतिबारे र वाम सहकार्यको सवालमा छिट्टै निर्णय लिनुपर्ने मत राखेका थिए ।

एमालेसँगको बैठकमा पनि दुई दलको सहकार्यको विषयमा कुनै सहमति जुटेको छैन । कांग्रेस र एमालेबीच शुक्रबार फेरि संवादको तयारी छ । शुक्रबारको संसद बैठकमा एमसीसीलाई सैद्धान्तिक छलफलका निम्ति अगािड बढाउने तयारी रहेको छ ।