आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै

गोकर्णेश्वर खबर२० माघ २०७८, बिहीबार ०९:०३ मा प्रकाशित (२ साल अघि) ४२७ पाठक संख्या

२० माघ, काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ । गत हप्ताको तुलनामा औषत संक्रमणदर ११.८ प्रतिशतले कमी आएको सार्वजनिक हुने गरेको आंकडाले देखाउँछ ।

गत हप्ता एक लाख २० हजार २९९ आरटी पीसीआर परीक्षण गर्दा ६९ हजार ६६५ जनामा कोरोना पुष्टि भएको थियो । यो हप्ता घटेर ८४ हजार २३१ जनाको आरटी पीसीआर गर्दा २९ हजार ६९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. मिश्राले जानकारी दिनुभयो। आरटी पीसीआर गर्दा एक हप्तामा नेपालमा १४.३ प्रतिशतले संक्रमणदर कमी आएको हो ।

त्यस्तै एक हप्ता एन्टिजेनबाट परीक्षण गर्दा संक्रमणदर २.९ प्रतिशतले घटेको छ । ३८ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ हजार ७७१ जनामा कोरोना पुष्टि भएको थियो । भने यो हप्ता २९ हजार २७४ जनामा एन्टिजेन परीक्षण गर्दा १२ हजार ९२७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक हेर्दा पुस २० गतेबाट उकालो लागेको कोरोना संक्रमितको ग्राफ माघ १० गते पुनः ओरालो लाग्दै गइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो। त्यसयता यो भेरियन्ट विश्वभर तीव्र गतिमा फैलियो । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पहिलो पटक पुस १९ गते तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो । सरकारले ओमिक्रोन भेरियन्ट नेपालमा देखिएको जानकारी दिँदा दैनिक करिब २ सयको आसपासमा संक्रमण पुष्टि भइरहेको थियो ।

कोरोना संक्रमितको ग्राफ पुस १९ गते परीक्षण गरिएका मध्ये २.६ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । त्यसयता कोरोना संक्रमणदर उकालो लाग्दै आइरहेको छ। परीक्षण गरिएका मध्ये पुस १९ गते २.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो। यो दर पुस २५ गते बढेर ९.१ प्रतिशतमा पुगेको थियो। यो संख्या पुस ३० गते पुग्दासम्म २४.७ प्रतिशत पुगेको थियो ।

यसरी मन्त्रालयको आँकडा विश्लेषण गर्दा माघ १ गते ३१.८ प्रतिशतमा कोरोना पुष्टि भएको देखिन्छ । यो संख्या माघ ५ गते ४८.४ प्रतिशत पुगेको छ । तेस्रो भेरियन्ट फैलिएपछि माघ १० गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको देखिन्छ । माघ १० गते परीक्षण गरिएकामध्ये ४८.६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । त्यसयता भने संक्रमण दर विस्तारै घटेको देखिन्छ । माघ ११ गते ४६.३ प्रतिशतमा संक्रमण पुष्टि हुँदा माघ १२ गते ४१.५ प्रतिशतमा झरेको छ । त्यस्तैयो संख्या घटेर माघ १७ गते ३२.८, माघ १८ गते ३२.५ र माघ १९ गते ३१.४ प्रतिशतमा झरेको छ ।

कोरोना संक्रमणदर पछिल्लो केही दिनदेखि घट्दै गएको भए पनि यसको जोखिम कायम रहेकोले सजग र सतर्क रहनु पर्ने स्वास्थ्य विज्ञहरुले बताउँछन् । यसअघि नै स्वास्थ्य मन्त्रालयले ३–४ सातामा संक्रमणदर उच्च बिन्दुमा पुग्ने र विस्तारै ओरालो लाग्ने बताएको थियो। विश्वका अन्य देशको तथ्यांक हेर्दा यो भेरियन्ट ३ देखि ४ हप्ता उच्च हुने र विस्तारै ओरोलो लाग्दै गएको देखिएको छ।