आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

२४ लाख डोज खोप हिनामिना आरोपमा स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध उजुरी

गोकर्णेश्वर खबर१८ माघ २०७८, मंगलवार १६:५२ मा प्रकाशित (२ साल अघि) ३१३ पाठक संख्या

१८ माघ, काठमाडौं । २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना खोप हिनामिना गरेको भन्दै मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो ।

संघले मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाहीको माग गरेको छ । संघले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३, ८, १७ तथा अन्य कानन बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री बिरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारवाही गरी पाउँ भनी माग गरेको छ ।

राष्ट्रिय युवा संघका सहसंयोजक संजीवकुमार सुरज झाले हस्ताक्षर गरेको विज्ञप्तिमा – ‘नेपाल सरकारका स्वास्थ्य मन्त्री श्री बिरोध खतिवडा मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हँदा मन्त्री बिरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ वमोजिम यो निवेदन गरेका छौं’ भनिएको छ ।