आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

वाग्मती सभ्यता आयोजनाले वाग्मती किनारमा बनाईएका अनधिकृत संरचना हटाउने

गोकर्णेश्वर खबर१६ माघ २०७८, आईतवार १३:१६ मा प्रकाशित (२ साल अघि) १९२ पाठक संख्या

१६ माघ, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती किनारमा बनाईएका अनधिकृत संरचना हटाउने भएको छ । गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।

समितिले नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन सूचनामा उल्लेख गरेको छ । यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ । समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदि किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।