आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

तेस्रो लहरको क्षतिलाई खोपले रोक्यो : स्वास्थ्य मन्त्री

गोकर्णेश्वर खबर१४ माघ २०७८, शुक्रबार १८:०२ मा प्रकाशित (२ साल अघि) २४४ पाठक संख्या

१४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप अभियानमा सरकारको सक्रिय सहभागिताले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो क्षतिलाई कम गरेको बताएका छन् ।

नेपालमा खोप अभियान सुरु भएको एक वर्ष पुगेको अवसरमा मन्त्रालयको तर्फबाट अभियानमा संलग्न सबैलाई धन्यवाद दिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको र धेरैलाई खोप लगाउन बाँकी रहेको समेत उल्लेख गरेका छन् ।

‘खोप अभियानमा हाम्रो सक्रिय सहभागिताले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो जोखिमलाई कम गर्न सकिएको छ’, मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको तथा हामीकहाँ अझै धेरैजना कोभिड–१९ को खोप लगाउन बाँकी रहनुभएकोले यसलाई तीव्रताका साथ अगाडि बढाउन र बाँकी उमेर समूहलाई समेत खोपको व्यवस्था गर्नुपर्ने छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले खोप अभियान सुचारु गर्न सहयोग र सहजीकरण गर्ने सम्पूर्ण तहका सरकार तथा संघसंस्था र स्वास्थ्यकर्मीलाई धन्यवाद गर्दै कोभिड–१९ को महामारीबाट बाहिर आउन सबैको सहयोग अपरिहार्य रहेको समेत बताए ।